भारतको सिक्किम राज्यमा पिएस गोले मुख्यमन्त्री बनेसँगै २५ बर्षपछि नयाँ पार्टिको सरकार


भारतको नेपालीभाषी बाहुल्य हिमाली राज्य सिक्किममा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पिएस गोलेले सोमबार मुख्यमन्त्रीको सपथ लिएर सत्ता सम्हालेका छन्।

गोले सिक्किमका लागि छैठौँ मुख्यमन्त्री हुन्।

यसअघि २५ बर्षसम्म मुख्यमन्त्री बनेका सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष पवनकुमार चाम्लिङको दललाई यसपटकको निर्वाचनमा गोलेको दलले पाखा लगाएको थियो।

सिक्किम विधानसभा चुनावमा चामलिङ-गोले प्रतिस्पर्धा
यस्ता छन् भारतीय दलले नेपालीभाषीलाई गरेका चुनावी वाचा
सिक्किममा सन् १९९४ सालदेखि लगातार पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङ नेतृत्वको पार्टिले सत्ता सम्हाल्दै आएको थियो।

गोले अघिका मुख्यमन्त्रीहरुमा चाम्लिङ पाँचौं हुन्। अन्य चार जनामा काजी लेन्डुप दोर्जी, नरबहादुर भण्डारी, बीबी गुरुङ र सञ्चमान लिम्बु हुन्।

गोले विधायक होइनन्
पिएस गोलेले ११ सदस्यीय मन्त्रीपरिषद गठन गरेका छन्।

भ्रष्टाचारको मुद्दामा एक वर्ष जेल बसेर निस्केका र विधायक पनि नरहेका गोलेलाई मुख्यमन्त्रीका रुपमा सपथ गराउने स्वीकृति राज्यपाल गंगाप्रसादले दिएका थिए।

तर उनी मुख्यमन्त्रीमा कायम रहन आगामी ६ महिनाभित्र विधायकमा निर्वाचित हुनुपर्नेछ।

हालैको निर्वाचनमा उनको पार्टिले जितेको १७ सिटमा उनका छोरा आदित्य गोले पनि निर्वाचित भएका छन्।

पूर्व शिक्षक
नयाँ मुख्यमन्त्री गोले पूर्व शिक्षक हुन्।

पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको सरकारले उनलाई शिक्षण पेशाबाट बर्खास्त गरेपछि पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङले आफ्नो पार्टिमा समावेश गराएका थिए।

सन् २००९ सालको चुनावपछि मुख्यमन्त्री चाम्लिङसँग सम्बन्ध चिसिँदै गएपछि उनले नयाँ पार्टिको स्थापना गरेका हुन्। यस पटकको विधानसभा चुनावमा २५ बर्षदेखि सत्तामा रहेको पार्टिलाई विस्थापित गर्न उनको दल सफल देखियो।

आफ्नो पार्टि सरकारमा गएपछि नयाँ मुख्यमन्त्री गोलेले भने, “मलाई पूर्व मुख्यमन्त्री चाम्लिङले नचिमोटेको भए यो परिवर्तन संभव थिएन।”

इमान्दार प्रतिपक्षीः चाम्लिङ
विधानसभा चुनावमा १५ सिटमा खुम्चिएको पूर्व सत्ताधारी दल सिक्किम डेमोक्रेटिक पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङले जनताले परिवर्तन चाहेकाले अहिलेको परिणाम आएको बताएका छन्।

उनले भने, “जनताले हामीलाई अस्वीकृत गरेको होइन। भूमिका मात्र परिवर्तन गरिदिएका हुन्। जुन भूमिका हामीलाई दिइएको छ त्यो भूमिका इमान्दारीका साथ निर्वाह गर्छौं।”

३२ विधानसभा सिट रहेको सिक्किममा एउटा लोकसभा सिट रहेको छ। हालैको निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चाका उम्मेद्वार इन्द्रहाङ सुब्बा उक्त सिटमा विजयी भएका छन्।
from bbcnews


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै